क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको अध्यक्ष कुमार गुरुङ नियुक्त

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको मिति २०२५ साल अप्रिल २० तारिख आइतबार अल्डरसट स्थित शुसी मोटो रेष्टुरन्टमा सम्पन्न नबौं बार्षिक साधरण सभा २०२५ले बर्तमान अध्यक्ष क्याप्टेन श्री पिताम्बर गुरुङले राजीनामा दिनुभएको कारण निबर्तमान उपाध्यक्ष श्री कुमार गुरुङलाई तीन बर्षे कार्याकालको लागि अध्यक्षमा नियुक्ति गरेको छ । साथै, सभाले बर्तमान कार्यसमितिको कार्यकाल एक बर्षको लागि थप गरिएको छ ।

समाजको महासचिव श्री इन्द्र घोथानेले बार्षिक साधरण सभा—२०२५ प्रारम्भ गर्नुहुदै समाजको पदाधिकारीज्युहरुलाई असन ग्रहण गराउदै बैठक स्थलको स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जानकारी गराउनुभएको थियो । लगतै, अध्यक्ष क्याप्टेन श्री पिताम्बर गुरुङ, चेलिबेटी प्रमुख श्रीमती लिना गुरुङ र संस्थापक अध्यक्ष श्री नरजङ गुरुङले संयुक्त पानसमा दीप प्रज्वलन गर्नुभई २०२५ सालको बार्षिक साधरण सभा समुद्घाटन गर्नुभएको थियो । त्यसपछि उपाध्यक्ष श्री राम गुरुङले उपस्थित सबैजनालाई समाजको तर्फबाट औपचारिक स्वागत गर्नुभएको थियो । सभाको आरम्भमा यस आर्थिक बर्ष अर्थात २०२४–२५मा स्वर्गरोहण हुनुभएका कुल पित्रीहरुको सम्झना गर्दै (प्रार्थना गर्दै) श्रद्धान्जली स्वरुप १ मिनेट मौन धारण गरियो ।

सभामा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेका कोषाध्यक्ष श्री देब गुरुङले समाजको बार्षिक आर्थिक प्रतिबेदन गर्नुभयो र उहाँले समाजको आर्थिक अवस्था बलियो र बृद्धिका लागि केही रणनितीक बुंदाहरु प्रस्तुत गर्नुभएको थियो । त्यस्तै महासचिबले बार्षिक बैठकहरुको प्रतिबेदन (बैठकहरु र उक्त बैठकहरुको निर्णयहरु) र कार्यबाहक अध्यक्ष श्री राम गुरुङले समाजले सम्पन्न गरेका प्रमुख कार्यहरु र कार्यक्रमहरुको स्मरण गराउंदै समग्र समाजको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

सभाले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको २०२५ को बार्षिक भेटघाट तथा चेलिबेटी भोज कार्यक्रम अगामी बर्ष जनवरी १७ तारिख २०२६ साल र चेलिबेटीहरुको देउसी भैलो तथा भाईटीका (तिहार कार्यक्रम) कार्यक्रम २०२५ साल अक्टोबर ११ वा १७ तारिख गर्ने निर्णय गरेको छ ।

साथसाथै, संस्थाहरुको नियमित बार्षिक साधरण सभामा झैँ क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेले पनि समाजको हित र बिकासको लागि अन्य थुप्रै आबश्यक निर्णयहरु गरेका छन् ।

सभामा संस्थापक अध्यक्ष श्री नरजङ गुरुङ, प्रमुख संरक्षक क्याप्टेन श्री जीवन कुमार गुरुङ, प्रमुख सल्लाहकार श्री हरि गोबिन्द गुरुङ, संस्थापक सल्लाहकार तथा तमु समाज युकेको संस्थापक अध्यक्ष श्री चित्र ब. गुरुङ, संस्थापक सल्लाहकार तथा तमु धिं युकेको संस्थापक अध्यक्ष मीन प्रसाद गुरुङ, संस्थापक सल्लाहकार श्री नारदमनी गुरुङ र भुपु अध्यक्ष तथा संरक्षक अनेरी लेप्टेन श्री चन्द्र गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियो ।

सभामा समाजका पदाधिकारीहरु र प्रमुख सदस्यहरु उपस्थित हुनुहुन्थ्यो । बार्षिक साधरण सभा महासचिब इन्द्र घोथानेले संचालन गर्नुभइएको थियो ।

स्मरण रहोस– नब नियुक्त अध्यक्ष कुमार गुरुङले यस अघि साहारा युके, धम्पुस समाज युकेको सफलता पुर्बक नेतृत्व गरिसक्नुभएको छ । साथै उहाँ तमु धिं युके लगायत अन्य थुप्रै सामजिक संस्थाहरुसंग सम्बद्ध हुनुहुन्छ । कुमार गुरुङ साथीभाईहरु बिच मिलनसार व्यक्तित्व र कुशल इभेन्ट कोअर्डिनेटरको रुपमा परिचित हुनुहुन्छ ।

यो खबर शेयर गर्नुहोस....