
क्वोंने (घोताने/घोण्डे) गुरुङ्ग (तमु) समाज युकेको चौथो भाइखलक तथा चेलिबेटी भेटघाट कार्यक्रम सम्पन्न
टोउ गुरुङ्ग
१८ जनवरी, २०२०
अल्डरसट, ह्याम्पसायर । मिति १८ जनवरी २०२० शनिबारको दिन, अल्डरसट स्थित एम्पायर हलमा क्वोने (घोताने/घोण्डे) तमु (गुरुङ्ग) समाज युकेले चौथो पटक समाजको वार्षिक भेटघाट तथा चेलीबेटी भात खुलाइ कार्यक्रम भव्य अनि सभ्य रुपमा सम्पन्न गरेका छन् । आफ्नो परम्परालाई निरन्तरता दिंदै माघे संक्रान्तिको सुअबसरमा आफ्नो चेलिबेटीहरुलाई भात खुलाउने प्रचलन यस बर्ष पनि निरन्तरता दिए ।
नियमित असनग्रहणसंगै आरम्भ गरिएको उक्त कार्यक्रममा युकेको नियम अनुसार कार्यक्रमको शुरुवातमै समाजको उपाध्यक्ष तथा यस भेटघाट कार्यक्रमको संयोजक क्याप्टेन श्री पिताम्बर गुरुङ्गले कार्यक्रम स्थलको स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जानकारी गराउदै स्वागत मन्तव्य दिनुभएको थियो । नेपालको राष्ट्रिय गान बजाएर कार्यक्रमको शुरुवात गरिएको थियो भने क्वोने परिवारभित्र यस बर्ष दिबंगत हुनुभएका (पितृ हुनुभएको) परिवारका सदस्यहरुको शोकमा र सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो ।
क्वोने समाज युकेको अध्यक्ष अ. लेप्टेन श्री चन्द्र क्वोने गुरुङ्गज्यु, क्वोने समाज युकेको बयोबृद्ध भाइखलक (बुवा) ९२ बर्षिय श्री सीह बहादुर गुरुङ्गज्यु, क्वोने समाज युकेको संस्थापक अध्यक्ष श्री नरजङ्ग गुरुङ्गज्यु, समाजको संस्थापक बरिष्ठ सल्लाहकार श्री नारायण क्वोन्मेज्यु, सल्लाहकार उपमेयर काउन्सिलर श्री लक्ष्य ब. गुरुङ्ग र गैर आवशीय नेपाली संघ युकेको अध्यक्ष चेली श्रीमती पुनम गुरुङ्गज्युुले संयुक्त रुपमा पानसमा दियो बालेर औपचारिक कार्याक्रमको सम्उद्धघाटन गर्नुभएको थियो । कार्यकरुममा संस्थापक अध्यक्ष श्री नरजङ्ग गुरुङ्ग, समाजको बरिष्ठ संस्थापक सल्लाहकार श्री नारायण कान्मैज्यु तथा समाजको चेलिबेटी समुहकी प्रमुख राजकुमारी गुरुङ्गले शुभकामना मन्तव्य दिनुभएको थियो । त्यसैगरि हाल लिभरपुल युनिभर्सिटीमा विद्यावारिधि गरिराख्नुभएको यसै समाजको बौद्धिक अनि प्राज्ञिक व्यक्तित्व भक्त गुरुङ्गज्युले पनि मन्तव्य दिनुभएको थियो । कार्यक्रममा क्वोंने समाज केन्द्रको भुपु सचिब तथा बंशावली लेखन समितिको सचिब श्री बाबुकाजी (राम) गुरुङ्गज्युले गुरुङ्ग क्वोंने (घोताने/घोण्डे)को इतिहास सम्बन्धि छोटो जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई समाजको बयोबृद्ध तथा सिनियर सदस्यज्युहरुबाट तरुल र मासको टीका लगाई अशिर्बाद दिनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि यसै क्वाेंने समाज युकेको जेष्ठ सदस्य ९२ बर्षिय सीह बहादुर गुरुङ्गज्यु हुनुहुन्थ्यो भने विशेष अतिथिहरु भाइखलक उपमेयर श्री लक्ष्य गुरुङ्ग र एनआरएनए युकेको अध्यक्ष चेली श्रीमती पुनम गुरुङ्ग हुनुहुन्थ्यो । औपचारिक कार्यक्रमको सभापतित्व अध्यक्ष अ.लेप्टेन श्री चन्द्र गुरुङ्गज्युले गर्नुभएको थियो । कार्यक्रममा यस बर्ष एनआरएनए युके र अन्य संघसंस्थाहरुमा विभिन्न पदहरुमा निर्बाचित तथा नियुक्त हुनुभएको भाइखलकहरु र चेलीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा क्वोने कुलपुत्र- काउन्सिलर श्री लक्ष्य गुरुङज्यु लन्डन बोरो अफ बार्नेटको उप-मेयर जस्तो गरिमामय पदमा निर्बाचित हुनुभएकोमा र क्वोने चेली श्रीमती पुनम गुरुङज्यु एनआरएनए युकेको इतिहासमा प्रथम महिला अध्यक्ष भएर इतिहास रच्न सफल हुनुभएकोमा समाजको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना दियो ।
बिगतका बर्षहरुमा जसरी यस बर्ष पनि औपचारिक तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु मिश्रित गर्दै कार्यक्रमलाई रोचक बनाइएको थियो । कार्यक्रमको संयोजक तथा उपाध्यक्ष क्याप्टेन श्री पिताम्बर गुरुङ्गले “तेरे नाम”को चर्चित हिन्दी गीत गाउनुभइ सांस्कृतिक कार्यक्रमको शुरुवात गर्नुभएको थियो । कार्यक्रममा चेली तारा गुरुङ्गले माइतीघर माइतीघर बोलको चर्चित गीतमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने उहाँको श्रीमान यामु गुरुङ्गले मुक्तक सहित गुरुङ्ग चलचित्र प्रैस्योको चर्चित गीत “रिमै थुमै प्रितना रोधीरी” भन्ने गीत गाउनुभइ मनोरंजन गराउनुभएको थियो । साथै तमुधिं युकेको निमन्त्रणामा हाल युके आउनुभएका चर्चित गायक श्री राजन गुरुङ्ग र अर्को प्रख्यात गायिका ममता गुरुङ्गले थुप्रै नेपाली तथा गुरुङ्ग चर्चित गीतहरु गाउनुभई भर मुग्धर रमाइलो गराउनुभएको थियो ।
कार्यक्रमको प्रमुख आकर्षण तथा रमाइलो कार्यक्रम– नियमति चिठ्ठा कार्यक्रम रहेको थियो । छोरीचेलीहरुले संचालन गरेको उक्त चिठ्ठाको प्रथम पुरुस्कार एक तोला सुन (प्रायोजक— श्रीमती पुनम गुरुङ्ग, एनआरएनए युकेको अध्यक्ष), द्धितिय पुरुस्कार आधि तोला सुन (प्रायोजक— श्रीमती चन्द्र देबी गुरुङ्ग, चेलीबेटी समुहकी उप—प्रमुख) र तृतिय पुरुस्कार तिलहरी (प्रायोजक— भाइखलक श्री लालकाजी गुरुङ्ग, सफल व्यवसायी) थियो । चिठ्ठा कार्यक्रमबाट उठेको £2597.50 (दुई हजार पाँच सय सन्तानब्बे पाउण्ड, पचास पेन्स) रकम छोरीचेलीको तर्पmबाट बाबा माइतीलाई धन्यबाद दिंदै यस समाजको कोषाध्यक्ष श्री बोहत गुरुङ्गज्युलाई हस्तन्तरण गरियो । कार्यक्रममा उत्कृष्ट पोशाकमा तमु पोशाकमा (भेषभुषा) पुरुषतर्फ सेतीमादी डाँडागाउँ समाज युकेको अध्यक्ष श्री रुद्र घोताने र महिला तर्फ श्रीमती अन्जु गुरुङ्ग विजयी हुनुभएको थियो । उत्कृष्ट भेषभुषा छान्ने निर्णायकहरु यसै समाजको बरिष्ठ सल्लाहकार श्री हरि गोबिन्द गुरुङ्ग र चेलिबेटी समुहकी उप प्रमुख श्रीमती चन्द्र देबी गुरुङ्ग हुनुहुन्थ्यो ।

औपचारिक कार्यक्रमको अन्त्यमा समाजको अध्यक्ष तथा यस औपचारिक कार्यक्रमको सभापति अ. लेप्टेन श्री चन्द्र गुरुङ्गज्युले उपस्थित सम्पुर्ण भाइखलकहरु अनि छोरी (चेली) ज्वाँइहरुलाई आइदिनु भइ कार्यक्रमलाई सफल बनाइ दिनुभएकोमा हार्दिक धन्यबाद दिनुभयो । उहाँले बिशेष गरि आजको यस कार्यक्रमलाई आयोजना गर्न र सफल बनाउनु हुने सम्पुर्ण अग्रज व्यक्तित्वहरु, प्रायोजकज्युहरु, कार्यसमितिका पदाधिकारीहरु सबैजनालाई व्यक्तिगत, कार्यसमिति र समाजको तर्फबाट आभर प्रकट गर्नुभयो । साथै उहाँले कार्यक्रममा कुनै भुल या गल्ति भएमा क्षमा माग्दै र भविष्यमा कमीकमजोरीलाई सुदृढ गर्दै राम्रो गर्ने प्रतिबद्धताका साथ औपचारिक कार्याक्रम समापन गर्नुभयो ।
कार्यक्रमको प्रमुख अतिथि तथा विशेष अतिथिहरुलाई नौमती बाजा बजाएर स्वागत गरिएको थियो । कार्यक्रममा टिकट व्यवस्थापन र पाहुनाहरुलाई स्वागत गर्ने कार्यमा बुहारीहरुले र आमा समुहले सहयोग गर्नुभएको थियो । औपाचारिक कार्यक्रम संचालन यसै समाजको महासचिब श्री इन्द्र घोथानेले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रम एनआरएनए युकेको प्रबक्ता श्री राम कुमार गुरुङ्गले संचानलन गर्नुभएको थियो । सुचना प्रबिधि अनि कार्यक्रमको लागि चाहिने कागजातको तयारी यसै समाजका कार्यलय सचिब श्री टोउ गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रमको मिडिया पार्टनर हयाबअमोमेन्ट थियो भने साउण्ड सिस्टम सपन इन्टरटेन्टमेन्टले उपलब्ध गराएको थियो । कार्यक्रमको लागि ८४ जना दाज्युभाइहरुले जम्माजम्मी ४५३५ पाउण्ड आर्थिक सहयोग गर्नुभएको थियो जसको विस्तृत विबरण कोषाध्यक्ष श्री बोहत गुरुङ्गले प्वावरप्वाइन्ट र प्रोजेक्टर मार्फत स्क्रीनमा डीस्प्ले गरिएको थियो । यसै एम्पायर हलको हेड चेफ श्री अमृत गुरुङ्गले विगतका बर्षहरुमा झै यस बर्ष पनि १५ किलो तरुल प्रायोजन गर्नुभएको थियो । कार्यक्रममा युकेको विभिन्न संघसंस्थामा पदासिन (बर्तमान तथा भुपु) भाइखलकहरु अनि चेलीज्वाँइहरुकोे उपस्थित रहेको थियो ।


